काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो , खाद्यान्न पसल विहान ९ बजेसम्म खुल्ने

काठमाडौं, जेठ १९ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय जेठ मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताए ।

साथै सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए । आजको बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्