कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं , जेठ १८ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ ।

मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

गत जेठ १४ गते उनको उपचारका लागि गरिएको आर्थिक सहयोग आव्हानबाट शुभेच्छुकले ५० लाख हाराहारी सहयोग जुटाएका थिए ।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका थापा नेपाली राजनीतिमा फरक विचारको प्रतिनिधित्व गर्ने सरल नेता मानिन्छन् ।

नेपालमा वैकल्पिक दलको खाँचो छ र त्यसलाई युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथै उनले फरक धारको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरिएको थियो । सो दलको तर्फबाट संविधानसभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ४ जना सदस्यहरू उठाइएको थियो ।

संविधानसभाको दोस्रो चुनावपछि कानुनी रूपमा दर्ता भएको यो दलपछि रवीन्द्र मिश्रले स्थापना गरेको साझा पार्टीसँग एकीकरण गरेर विवेकशील साझा दल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्