विपद प्राधिकरणले भन्यो – यो वर्षको मनसुन खतरायुक्त, वर्षा पनि धेरै

काठमाडौं, जेठ १७ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा। अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर गर्नसक्ने बताए। उनले दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए।

अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने उनले बताए।

उनले भने, ‘पोहोरभन्दा यसपाली झन गाह्रो अवस्था आइपुगेको छ। पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती बेहोर्नुपर्‍यो। यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ। बाढी, पहिरोको घटना र अन्य रोगब्याधिका घटना नि बढ्ने देखेका छौँ।’

डा। पोखरेलले बाढी, पहिरो, रोगब्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए। जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ। जोखिमका वस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ। सर–सामग्रीको जोहो गर्ने बेला यही हो। यो तयारी सुरु गरौँ।’

उनले विपत्बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्