काँग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गर्योः मन्त्री ढकाल

काठमाडौं, जेठ १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताएका छन् ।

मन्त्री ढकालले नेकपा-एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्नुभएको बताएका हुन् ।

दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उनले काँग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप समेत लगाए ।

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताए । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनले बताए ।

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्