उपत्यकामा जेठ २० पछि निषेधाज्ञा सहज बनाउने तयारी, होला त जनजिवन सहज ?

काठमाडौं , जेठ १६ । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा रहेको  छ । जुन सकारात्मक संकेत हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाकैबीच संक्रमण रोक्न सरकारले तयारी नगर्दा सबैजसो अस्पतालहरू संक्रमितले भरिभराउ भएका थिए ।

करिब दुईसाता उपत्यकावासीका लागि कष्टकर हुन गयो । तर अहिले संक्रमणदर घट्दो क्रममा छ । यता निषेधाज्ञा कहिले खुल्छ टुंगो छैन । एक साताअघिसम्म उपत्यकामा संक्रमण दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ ।

नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको छ । तर अब भने २० गतेपछि केहि सहज बनाउने तयारी थालिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा जोड दिएका छन् । अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने पनि उनले बताए ।

जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

निषेधाज्ञा जारी राखेरै स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहज बनाउनेतर्फ आफूहरु सकारात्मक रहेको पराजुली बताउँछन् ।  निषेधाज्ञा बढ्दै जाँदा कतिपयले नागरिकलाई कहिलेसम्म थुनेर राख्ने हो भनेर आउने गुनासाहरुबारे पनि आफू जानकार रहेको पराजुलीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्