भीम रावलको टिप्पणी -एमसीसीलाई बजेट छुट्याउनु राष्ट्रघाती
–
काठमाडौँ , जेठ १६ । नेता भीम रावलले एमसीसीलाई बजेट छुट्याउनु राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रावलले संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयन गर्न ओली सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन भएको बताएका हुन् ।
‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो’ उनले ट्वीटमा लेखेका छन्, ‘यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौँ ।’
एमाले स्थायी कमिटी सदस्यको हैसियतमा रावल एमसीसी अध्ययन कार्यदलका सदस्य पनि थिए। नेकपाले एमसीसीका विषयमा अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
जुन कार्यदलमा रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए । कार्यदलले बुझाएको प्रतिवेदनमा एमसीसीका केही बुँदा संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने सुझाव दिएका थिए । तर त्यो प्रतिवेदन कार्यान्वयन गरिएको छैन ।
नेकपा विभाजन भएर एमाले बन्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले रावल लगायतका माधव नेपाल समूहका ११ जना नेतालाई कारबाही गरेर पार्टीबाटै निष्काशन गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्