आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, जेठ १६ । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक सोमवार बिहान १० बजेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे बैठक बोलाइएको भए पनि भोलि बिहान १० बजेसम्मका लागि स्थगित भएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने बताइएको थियो । यस्तै शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८र०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने तय भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका थिए ।

यसअघि एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै १२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोध्ने निर्णय गरेको केही दिनपछि मात्रै एमालेले थप १२ जनालाई स्पष्टीकरण पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्