धरानको प्रहरी चौकीमा हतियारधारी समूहद्वारा आक्रमण , ५ प्रहरी घाइते
काठमाडौँ, जेठ १४ । सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच जना प्रहरी घाइते भएका छन् ।
प्रहरीका अनुसार ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगर स्थित वडा समिति कार्यालयको अगाडि रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गर्दा असईसहित ५ जना प्रहरी घाइते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका उनीहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि आक्रमण गरेका हुन् ।
डीएसपी बस्नेतका अनुसार आफूलाई धम्की आएपछि धरान ३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी गएका थिए । त्यही बेला हतियारधारी समूह चौकी पुगेको थियो ।
लिम्बुलाई हतियारधारीहरुबाट बचाउन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए । आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ ।
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जाहेरी दिन आएका लिम्बूलाई कसले के विवादमा धम्की दिएको हो त्यसबारे भने केही नखुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्