अध्यादेशबाट मुलुक चलाउने कुरा बेठीक रहेको सभामुखको भनाई

काठमाडौं, जेठ १३ । सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशबाट मुलुक चलाउने कुरा बेठीक रहेको बताएका छन्।

बिहीबार संविधानविद् तथा कानुनविद्हरुसँग परामर्शका क्रममा आफ्नो धारणा राख्दै उनले सरकारले पछिल्लो समय ल्याइरहेको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

‘प्रतिनिधि सभामा छलफल गर्ने, राष्ट्रिय सभामा छलफल गर्ने कुरा छँदैछ। आम जनतामा छलफल गर्नुपर्ने र जोड्नुपर्ने कुरा पनि छ’, उनले भने, ‘पत्रकार र प्रतिनिधि सभासँग जोडेर पारित गर्नुपर्ने विधेयकहरु विचराधीन छन् र अहिले अध्यादेश चलाउने कुरा भइरहेको छ। त्यो सर्वधा बेठीक भइरहेको छ।‘

उनले अहिले देश अध्यादेशबाट चलाउने काम भइरहेको र कतिपय अध्यादेशहरु बडो सोच्नुपर्ने खालका रहेको बताए।सरकारले पछिल्लो एक वर्ष अध्यादेश ल्याउने क्रमलाई तीव्रता दिएको छ।

गत तीन सातामा मात्रै ११ वटा अध्यादेश जारी भएका छन्। अध्यादेश ल्याउने क्रममा आएको तीव्रताको आम आलोचना भइरहे पनि सरकारले भने बेवास्ता गर्दै अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्