मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

काठमाण्डौ , जेठ ११ । पश्चिम अफ्रिकी देश मालीमा सेनाले  ‘कू’ गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको छ ।

सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनीलाई नियन्त्रणमा लिएर सैनिक क्याम्पमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्री सोउलेमेन डोउकोरेलाई पनि सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनापछि संयुक्त राष्ट्र सङ्घले निन्दा गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई विना सर्त तत्काल रिहा गर्न आग्रह गरेको छ ।

निकै गरिब पश्चिमी अफ्रिकी देश मालीमा रहेको संयुक्त राष्ट्र सङ्घको मिसनले यस कदमको आलोचना गर्दै तीनै जनालाई तुरुन्त रिहा गर्न र शान्ति बनाइराख्न अपिल गरेको हो ।

यस्तै अफ्रिकी सङ्घ, इकोनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स, यूरोपेली सङ्घ र अमेरिकाले पनि राष्ट्र प्रमुखहरूलाई नियन्त्रणमा लिनु निन्दनीय भएको भन्दै शीर्ष नेताहरूलाई विना कुनै सर्त रिहा गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्