पूर्व सभामुखहरुले भने–संसद विघटन असंवैधानिक, सापकोटा भन्छन- संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार छु

काठमाडौं, जेठ ११ । पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले यहि जेठ ७ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् ।

आज  सभामुख अग्नीप्रसाद सापकोटाले डाकेको पूर्व सभामुखहरुसँगको अन्तरक्रियामा बोल्दै उनीहरुले केपी शर्मा ओली इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको टिप्पणी गरे । सरकारले दोस्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग परामर्श लिइरहेका छन् ।

छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुले गरेका छन् ।

जुन संसदमा प्रधानमन्त्रीमा नियुक्त भए त्यही संसदलाई देखिनसक्ने प्रधानमन्त्री ओलीले दुई दुई पटक संसद भंग गरेर इतिहासमै सबैभन्दा ठूलो अपराधपूर्ण काम गरेको उनीहरुले बताएका छन् । आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकोले त्यसलाई जोगाउनु अहिलेको मुख्य कार्यभार रहेकोमा उनीहरुको जोड छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका छन् भने सुवास नेम्वाङ भने सहभागी छैनन् ।

पूर्व सभामुख रानाभाट जुमबाट बैठकमा सहभागी छन् भने दमननाथ ढुङ्गाना पनि जुम प्रविधिबाट बैठकमा सहभागी हुने प्रयासमा रहेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सभामुख अग्नि सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्