काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि फेरि थप्ने तयारी, अबको निषेधाज्ञा निकै कडा हुने

काठमाडौं, जेठ १० । काठमाडौं उपत्यकामा थप कडाइका साथ जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी भएको छ ।

नेपालमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सचेत गराइरहेका बेला महामारी रोकथामका लागि यस्तो गर्न थालिएको हो ।

यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ । तर स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउनु पर्ने देखिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

‘त्यसका लागि हामी भोलि तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी) छलफलमा जुटने भएका छन् । जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ । शुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुई पटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन् ।

उपत्यकाका तीन जिल्लाले एकैसाथ र उही नियमका साथ निषेधाज्ञा घोषणा गर्ने गरेका छन् । अहिले लगभग देशैभर निषेधाज्ञा लागू छ । दुई जिल्ला मनाङ र खोटाङमा मात्रै निषेधाज्ञा हुन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्