सरकारमा जाने महन्थ ठाकुर पक्षको तयारी, छलफल सुरु

 

काठमाडौं, जेठ १० । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहमा सरकारमा सहभागी बन्ने विषयमा छलफल सुरु भएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा अध्यक्ष उपेन्द्र यादव पक्ष र ठाकुर पक्ष विभाजित भएसँगै जसपाभित्रको पूर्वराजपा समूहले सरकारमा जाने तयारी थालेको हो।

यता जसपा नेता लक्षमणलाल कर्ण भने सरकारमा सहभागिताको विषयमा छलफल भए पनि त्यसबारे कुनै निर्णय भइनसकेको बताएका छन्प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आग्रह गरिरहेको उनले बताए।केही माग सम्वोधन भए पनि अन्य महत्वपूर्ण मागबारे सरकारको धारणा आवश्यक रहेको पनि उनले बताए।

तर जसपाका अर्का एक नेताका अनुसार प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको नियुक्तिबारे अदालतमा मुद्दा परेको अवस्थामा त्यसको निर्णय नआउन्जेल अहिलेलाई बाहिरै बसेर समर्थन गर्ने विकल्पबारे पनि छलफल भएको बुझीएको छ ।

एकातिर ठाकुर पक्षमा मन्त्रीका लागि आकांक्षी धेरै देखिएपछि त्यसको व्यवस्थापन गर्न अर्को चुनौती थपिएको छ।

सांसदबिना मन्त्री रहेका पूर्वमाओवादीहरुको पद अदालतको आदेशबाट खारेज भएपछि रिक्त रहेको स्थानमा जसपाका नेतालाई सांसद बनाउने भनी प्रधानमन्त्रीले प्रतिबद्धता गरे पनि मन्त्री बन्न १५ जना भन्दा धेरै आकांक्षी देखिएपछि व्यवस्थापन गर्न चुनौतीपूर्ण भएको जसपा नेताहरुको भनाइ छ।

विघटित प्रतिनिधि सभामा नरहेका नेताले पनि मन्त्रीमा आकांक्षा देखाएका छन्।  कसलाई कुन कुन मन्त्रालयमा पठाउने भन्ने सहमति बनेपछि सरकारमा सहभागी हुने तयारीमा ठाकुर पक्ष छ।

प्रतिक्रिया दिनुहोस्