राजनीतिक झमेला छाडेर महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन प्रधानमन्त्री ओलीको दलहरुलाई आग्रह

काठमाडौँ , जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक झमेला छाडेर अहिले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन सबै दललाई आग्रह गरेका छन् ।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले आक्रान्त पारेको अवस्थामा देशका राजनीतिक शक्ति, नागरिक समाज लगायतलाई राजनीतिक झमेला छाडेर जनताका समस्या समाधानतिर केन्द्रित हुन आग्रह गरे ।

‘आज देश र जनता कोभिड–१९ बाट आक्रान्त भइरहेको अवस्था छ । यस्तो अवस्थामा देशका सम्पूर्ण राजनीतिक शक्तिहरु, अरु झमेला छाडेर जनताका समस्या समाधानतिर लाग्न पर्ने हो । म अहिले पनि आह्वान गर्न चाहन्छु, राजनीतिक दल, नागरिक समाज सबै कोभिड–१९ को विरुद्धको लडाइँमा केन्द्रित हुनुपर्छ,’ ओलीले भने ।

तर, कोभिड–१९ विरुद्धको अभियानमा नलागेर अहिले राजनीतिक दलहरु लोकतान्त्रिक प्रणाली र अभ्यासप्रति नै जनताको वितृष्णा बढ्ने गरी क्रियाकलाप गरिरहेको ओलीको आरोप छ ।

‘सामन्तवादी कुसंस्कारको अवाञ्छित प्रभाव के होला । जहाँ हामी गणतन्त्रको माखौल उडाइराखेको छौं भने त्यो भन्दा नराम्रो के हुन्छ ?’ उनले भने, ‘अरु राजनीतिक झमेला, गालिगलौज, चरित्रहत्या, स्तरहिनजस्ता कुराहरुलाई सामाजिक सस्कार बनाउन खोज्ने प्रयास, यो देश र गौरवपूर्ण सभ्यताका लागि चुनौतीपूर्ण हो ।

गणतन्त्रको माखौल उडाएर गालिगलौज, चरित्रहत्याजस्ता कुराहरुलाई सामाजिक संस्कार बनाउन खोज्नेले देशको गौरवपूर्ण सभ्यताका लागि चुनौती खडा गरेको ओलीले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्