शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन, देशभर सुरक्षा व्यवस्था कडा, अटेर गर्नेलाई १ वर्ष जेल
काठमाडौं, जेठ ९। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विद्यार्थी संगठन विरोध प्रदर्शन गरेको छ।
नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् ।
तीन जनाको संख्यामा पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । यता सरकारले देशभरी निषेधाज्ञामा कडाई गर्न निर्देशन दिएको छ । विकशित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए ।
गृहस्थित सुरक्षा महाशाखाका अनुसार भीडभाडलाई पूर्ण निष्तेज गरिएकाले प्रशासन त्यसमा सक्रिय रहने छ । अहिले आइपरेको राजनीतिक घटनाक्रम अनुसार बाहिर हुन सक्ने जुलुश, प्रदर्शन पनि यही अध्यादेश अन्तर्गत पर्नेछन् ।
निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था गरिएको छ । सोही अनुसार कार्यान्वयन गर्न मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
प्रतिक्रिया दिनुहोस्