आज सर्वोच्च अदालत जाँदै विपक्षी गठबन्धन , नागरिकतासहित बोलाइयो सांसदहरुलाई
काठमाडौं, जेठ ९ । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् । आज १४९ जना सांसदलाई नागरिकतासहित उपस्थित हुन गठबन्धनले निर्देशन दिएको छ ।
शनिबार पाँच दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकल प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने निष्कर्ष निकालेको थियो ।
राष्ट्रपतिले गएको जेठ ७ गते बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो । तर प्रधानमन्त्रीले पनि आफूलाई १५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेकी थिइन् ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको खनाल–नेपाल पक्षका २६, जनता समाजवादी पार्टीको यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका १ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्