अबको प्रधानमन्त्रीको फैसला गर्दैछिन् राष्ट्रपति भण्डारीले: भन्छिन्- ‘म कानुन पनि हेर्छु

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनका लागि दुईजनाको दाबेदारी पेश भएको छ। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।

यता १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताएकी छन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने बताएकी हुन् ।

यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् ।

विपक्षी गठबन्धनले हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेको छ । यसैबीच एमाले र जसपा विभाजित भएपछि ओली र देउवाले एउटा एउटा समूहलाई आफ्नो पक्षमा रहेको दाबीँ गरेका छन्। दुवैले प्रस्तुत गरेको दाबी गणना गर्ने हो भने हाल संसदमा कायम रहेको सांसद संख्याभन्दा बढी देखिन्छ। त्यसैले अब कसलाई प्रधामन्त्री नियुक्त गर्ने भन्ने विषयमा राष्ट्रपति छलफलमा रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्