सीसीएमसी खारेज गर्न माओवादीको माग, कोरोनामा नियन्त्रणमा सिंगो पार्टी पंक्ति परिचालन गर्ने
काठमाडौं , जेठ ६ । सीसीएमसी खारेज गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिएका छन् ।
साथै कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइने भएको छ ।
माओवादीले सीसीएमसीले काम गर्न नसकेको भन्दै खारेज गरेर कानुनले चिनेको प्रधानमन्त्रीको नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझाव समेत दिने भएको छ ।
त्यस्तै माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ । को
भिड नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको छ ।
माओवादी बैठकले अत्यावश्यक बाहेकका राजनीति नियुक्तिहरु रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिढ नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ ।
‘संक्रमणको पहिलो र दोस्रो लहरबाट सरकारले शिक्षा लिएको देखिएन । अहिले तेस्रो लहर आइसक्यो । त्यसैले पहिलेबाट शिक्षा लिदै तेस्रो लहरबाट जनतालाई बचाउन पर्याप्त गृहकार्य र तयारी गर्नुपर्ने आवश्यक्ता छ’, नेता पुनले भने, ‘ हामी त्यसका लागि सरकारलाई झक्झक्याउँछौ ।’
साथै कोभिड नियन्त्रण तथा रोकथाममा माओवादीले सिंगो पार्टी पंक्ति परिचालन गर्ने भएको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन गरेको कोभिड नियन्त्रण युनिटले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरु गठन गरेर यसको रोकथाममा पार्टी परिचालन गर्ने निर्णय गरेको नेता पुनले जानकारी दिए ।
माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गर्ने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्