नवलपरासी पश्चिममा गोली चल्यो, एक जनाको मृत्यु
काठमाडौं, जेठ ५ । पश्चिम नवलपरासीमा गोली चल्दा एक जनाको ज्यान गएको छ । सशस्त्र प्रहरीले चलाएको गोली गोली लागेर प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो।
उनलाई सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो। तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार पश्चिम नवलपरासीको सुस्तास्थित नाकाबाट केही नेपाली जबर्जस्ती भारततर्फ जान थालेपछि रोक्ने क्रममा प्रहरीलाई घेरेर ढुंगामुडा गर्न थालेपछि प्रहरीले गोली चलाउनुपरेको नवलपरासी पश्चिमका एसपी अजय केसीले जानकारी दिए।
यता सशस्त्र नायब निरीक्षक )सइ) शंकर बुढाथोकी ढुंगाले लागेर घाइते भएका छन्।सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेको थियो।
सुरुमा फर्काएपछि पछि समूहमा आएर सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्