भारतमा शक्तिशाली समुद्री तुफान, २० को मृत्यु, नेपालमा पनि भारी वर्षाको सम्भावना
काठमाडौं, जेठ २ । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । दुई लाख मानिस विस्थापित भएका छन् ।
अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा रहेको छ ।
कोभिड–१९ का कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको हो ।चक्रवात प्रभावित भारतका मुम्बईलगायत विभिन्न स्थानमा सयौं रूख ढलेका छन् । विभिन्न शहर जलमग्न भएका छन् । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ ।
यता ‘ताउ–ते’ चक्रवातको प्रभावका कारण अहिले नेपालको मौसम समेत प्रभावित भएको छ । चक्रवातको प्रभावका कारण नेपालमा भारी वर्षाको सम्भावना रहेको र यसको असर पाँच दिनसम्म देखिने मौसमविदले बताएका छन् ।
अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै भोलि बेलुकादेखि शुक्रवारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १–२ ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । यस्तै प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यो सिजनमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीसमेतको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् मानन्धरको आग्रह छ ।
यस्तै उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा र अरु प्रदेशको एक–दुई ठाउँमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अरब सागरमा रहेको शक्तिशाली चक्रवातका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकाले पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ । चक्रवातको असरले नेपालमा आजदेखि देशभर मौसम बद्ली हुने भएको छ ।
मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ । विभागका निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गरेकी छिन् । अहिले धेरै आरोही आरोहण अनुकूल मौसमको प्रतिक्षामा सगरमाथाको आधार शिविरमा छन् । गएको वैशाख २४ गतेदेखि सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्