सिसिएमसी बैठकः हप्तामा हुने काम दिनमा र दिनमा हुने काम घन्टामा सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, जेठ २ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना महामारीविरुद्ध जुध्न स्वास्थ्य प्रणाली एकीकृत ढंगबाट सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिसिएमसीका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार अस्पतालसहित स्वास्थ्य संस्था एकीकृत रूपमा सञ्चालन गर्न र खोप, अक्सिजनलगायत स्वास्थ्य सामम्री खरिदमा केही कानुनी अड्चन देखिएकाले त्यसलाई समाधान गरिने भएको हो ।

‘महामारी नियन्त्रणमा संक्रामक रोग ऐन, २०२० पर्याप्त देखिएन । केन्द्रीय, प्रादेशिक र आधारभूत अस्पताललाई युनिफाइड ढंगले चलाउन केही कानुनी अड्चन देखिए,’ सिसिएमसीको आइतबारको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसका लागि कानुन मन्त्रालयको समन्वयमा स्वास्थ्य मन्त्रालयले प्रस्ताव अगाडि बढाउनेछ ।’

खोप, अक्सिजनसहित अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा अग्रिम भुक्तानी गर्न मिल्ने गरी बाधा अडकाउ फुकाइने उनले बताए । सार्वजनिक खरिद ऐनले अग्रिम भुक्तानीको परिकल्पना नगरेको तर अग्रिम भुक्तानीविना खोप खरिद गर्न नसकिने अवस्था देखिएपछि यस्तो प्रक्रिया अगाडि बढाइन लागिएको ज्ञवालीले बताए ।

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा बसेको बैठकमा स्वास्थ्य संकटकालबारे पनि छलफल भएको थियो । तर, यसबारे कुनै निर्णय नभएको पनि उनले बताए ।बैठकमा प्रधानमन्त्री ओलीले ‘महामारी नियन्त्रणमा राज्यका सम्पूर्ण शक्ति परिचालन गरेर प्रभावकारी बनाउन’ निर्देशन दिएका थिए ।

ओलीले सात दिनको कामलाई सात घन्टामा र एक दिनमा हुने कामलाई एक घन्टामा सम्पन्न गर्ने गरी निर्णायक ढंगमा काम गर्न पनि निर्देशन दिएका छन् ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । संक्रमण बढेसँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्