अहिले दिउँसो २ बजे ओलीले ४३ औं प्रधानमन्त्रीका रुपमा सपथ लिँदै, सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी

.
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३ औं प्रधानमन्त्रीका रुपमा सपथग्रहण गर्दैछन् ।

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

अहिले दिउँसो २ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा ओलीले ४३ औं प्रधानमन्त्रीको रुपमा शपथ लिँदैछन् । शपथ लिएसँगै उनले मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन् ।

अहिलेको मन्त्रीमण्डल सानो आकारको बन्ने उनीनिकट स्रोतले जानकारी दिएको छ । आफूसँग चोइटिएको वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षकालाई पनि मन्त्रीमण्डलमा समेटेर लैजाने ओलीको तयारी छ ।

तर, यता नेपाल पक्ष भने सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन् ।

उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए । उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्