कोरोना संक्रमणबाट बाग्लुङमा माओवादीका एक नेतासहित एकै दिन ३ जनाको मृत्यु
काठमाडौं, बैशाख ३० । कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट बाग्लुङमा बिहीबार एकै दिन तीनजनाको मृत्यु भएको छ ।
धौलागिरि अस्पताल बाग्लुङ उपचाररत नेकपा माओवादी केन्द्रका एक नेतासहित तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ढोरपाटन नेगरपालिका– ९ का ५७ वर्षीय नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शेरमान घर्ती रहेका छन् ।
त्यसैगरी, अस्पतालमै उपचाररत गल्कोट नगरपालिकाका– २ का ५२ वर्षीय पुरुष र बाग्लुङ नगरपालिका– ४ बस्ने ७७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड– १९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । गल्कोटका ५२ वर्षीय पुरुष वैशाख २२ गते अस्पताल आएका थिए भने ७७ वर्षीय वृद्ध भने मंगलबार मात्रै अस्पताल भर्ना भएका थिए ।
कोरोना संक्रमित भई गत वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत घर्ती नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय नेता हुन् । ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका घर्तीले गत वर्ष भएको बाग्लुङ क्षेत्र नम्बर २ ख को उपनिर्वाचनमा पनि गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा अहिले गण्डकी प्रदेश सभा सदस्य रहेर चर्चामा रहेका राजमोका खिमविक्रम शाहीलाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएका थिए ।
घर्ती तत्कालीन बोबाङ गाविसको वडाध्यक्ष हुन् भने जिल्लाको पश्चिम क्षेत्रका धेरै पुराना नेता हुन् ।उनी जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशील रहेका छन् । जिल्लामा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या २० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्