ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षका सांसदको राजीनामा रोक्ने तयारी

काठमाडौं, बैशाख ३० । एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक अहिले बिहान ९ बजे बस्ने बोलाएको हो । बहुमत जुटाई नयाँ सरकार गठन गर्ने समयसीमाको अन्तिम दिन आज !

एमाले अध्यक्ष ओलीले संसदमा विश्वासको मत (बहुमत) प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत जुटाई नयाँ सरकार गठन गर्न विपक्षी दललाई दिएको समयसीमा आजै राति ९ बजे सकिँदैछ।

नेपाल पक्षका सांसदले राजीनामा दिँदा नयाँ प्रधानमन्त्री बन्न कस्सिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत पुग्ने हुँदा त्यसलाई रोक्न ओली सक्रिय भएका हुन्।त्यसपछि ओलीले नेपाल पक्षसँग वार्ता गर्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।

नेपाल पक्षका कम्तीमा १६ सांसदले राजीनामा दिँदा संसदको कूल सदस्य संख्या घट्ने र जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि विपक्षी गठबन्धनलाई बहुमत पुग्ने आकलन भइरहेको छ।यता नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा पनि दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयासमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल तीव्र पारे पनि जसपाकै एउटा खेमाले साथ दिएको छैन ।

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्