बढ्दो क्रममा संक्रमण र मृत्युदरः काठमाडौँमा आजदेखि थप कडाइ, चार जिल्ला मात्रै निषेधाज्ञारहित

काठमाडौँ, बैशाख ३० । कोरोना भाइरसको संक्रमण बढेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७३ जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक आदेश जारी भएको छ ।

अब चार जिल्ला मात्र खुला छन् । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व तेह्रथुम र खोटाङले मात्र निषेधाज्ञा लगाएका छैनन् । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा भोजपुर र मुस्ताङ छन् ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ ।

नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो । बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो । एक महिनाको अवधिमा देश नै ठप्प हुनेसम्मको अवस्थामा पुगेको छ । नेपालमा पछिल्लो हप्ताको तथ्याङ्क विश्लेषण गर्दा कोरोना संक्रमितको संख्या ५१ प्रतिशतले बढिरहेको छ ।

भारत भन्दा नेपालमा संक्रमण र मृत्युदर निकै बढी रहेको स्वास्थ्य मन्त्रालयको सरुवा रोग विशेषज्ञ डा। अर्चना श्रेष्ठले जानकारी दिएकी छिन् । नेपालमा प्रति १० लाखमा तीन सय चार जना र भारतमा प्रति १० लाखमा दुई सय ४० मात्रै सङ्क्रमण दर रहेको छ ।

यस्तै नेपालमा प्रति १० लाखमा ३ दशमलव ३ जनाको ज्यान गइरहेको छ भने भारतमा प्रति १० लाखमा दुई दशमलव पाँच जनाको ज्यान गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्