नयाँ सरकार गठनमा सहभागी नहुने बारे महतो पक्षले गरायो राष्ट्रपतिलाई जानकारी

काठमाडौँ, बैशाख २९ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनमा सहभागी नहुने जानकारी गराएका छन् ।

अध्यक्ष ठाकुर र वरिष्ठ महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा पत्र बुझाउँदै नयाँ सरकार गठनमा सामेल नहुने जानकारी गराएका हुन् ।

उनीहरुले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेको जनाइएको छ ।

ठाकुरले दुई दिनअघि विज्ञप्ति जारी गर्दै वैकल्पिक सरकार गठनमा सहभागी नहुने स्पष्ट पारेका थिए ।

जसपका उपेन्द्र यादव र डा।बाबुराम भट्टराई भने नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनलाई सघाउने पक्षमा छन् ।

शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा सोभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिले दिएको समयसीमा विहीबार राति ९ बजे सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्