राष्ट्रिय सभाका उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान : बादललाई सूर्य, देवकोटालाई कलम

काठमाडौं, बैसाख २९ । राष्ट्रिय सभा अन्तर्गत वाग्मती प्रदेशतर्फको रिक्त सदस्य पदमा आउँदो जेठ ६ गते मतदान हुँदैछ । यसका लागि बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हेटौंडा–५ स्थित निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ । राष्ट्रिय सभामा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा। खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ ।

देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिन्ह प्रदान गरिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोग रहेको छ ।

उम्मेद्वारको अन्तिम नामावली समेत प्रकाशन भइसकेको जानकारी दिंदै सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले भने, ‘चुनाव चिन्ह प्रदान र अन्तिम नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई पठाइसकेका छौं ।’ पौडेलले काठमाडौंबाटै मतपत्र छापिएर आउने बताए ।

पौडेलले हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा मतदानको व्यवस्था मिलाइएको जानकारी दिए । मतदान बिहान नौ बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्नेछन् ।

उपनिर्वाचनमा प्रदेशसभाका एक सय १० र स्थानीय तहका २३८ गरी कुल ३४८ मतदाता छन् । प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्