काँग्रेसले समयसीमा भित्रै बहुमत पुर्‍याएर सरकार बनाउने दावी पेश गर्ने

काठमाडौं, बैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भित्रै सरकार बनाउन दावी पेश गर्ने भएको छ।

मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले आगामी बिहीबार राति ९ बजेको समयसीमा भित्रै सरकार बनाउनका लागि दावी पेश गर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि जानकारी दिँदै सहमहामन्त्री डा। प्रकाशसरण महतले जसपाको एक समूहले समर्थन गरिसकेको र अर्को समूहले समर्थन गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘जसपा पनि हाम्रो समर्थन आउँछ। माओवादी आइसकेको छ। एमालेमा पनि विवाद छ। माधव नेपालहरुसँग पनि छलफल गर्छौ।’

उनले संख्या पुर्याउने धेरै बाटोहरु रहेको बताएका छन्। तर, त्यो कुन बाटो हो भन्ने विषयमा भने केही खुलाएनन्।

यता बहुमतको सरकार गठनको प्रयास तीव्र पारेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

देउवा निवास बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच छलफल भएको देउवानिकट एक नेताले जानकारी दिए।

छलफलमा देउवा नेतृत्वमा सरकार निर्माणको प्रक्रियामा अन्य पक्षसँग कसरी सहमति जुटाउने भन्ने विषयमै केन्द्रित रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्