नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै, भावी रणनीति तय गरिने

काठमाडौं, बैसाख २८ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनका अनुसार भर्चुअल रुपमा बस्ने बैठकको समय भने तय भइसकेको छैन । सोमबार संसदमा भएको मतदानमा अनुपस्थित भएको खनाल–नेपाल समूह भावी रणनीति तय गर्न छलफल गर्न लागेको हो ।

उक्त समूहका २८ सांसद प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित भएका थिए । ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेसम्म बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् । ‘समस्याको निकास त दिनैपर्छ । आज बैठक बसेर छलफल गर्छौ’, शाक्यले भनिन् ।

यता प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित नेपाल–खनाल पक्षका सांसदलाई कारबाही हुने नेकपा एमालेले बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्