प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत, अब राजीनामा दिने

काठमाडौं , बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् । यो सँगै अब कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे ।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी हुन् ।

प्रधानमन्त्री ओलीले संसदको विश्वास गुमाएसँगै तीन वर्षसम्म चलेको कम्युनिष्ट सरकार ढलेको छ । शुरुमा सरकारसँग झण्डै दुई तिहाई बहुमत थियो ।

तर, नेकपाको विभाजन अनि एमालेभित्रको अन्तरकलहका कारण कम्युनिष्ट पार्टीले जनताबाट प्राप्त जनादेशअनुसार पाँच वर्षसम्म सरकार चलाउन नसकेको हो ।

कम्युनिष्ट सरकारले पाँच वर्ष काम गर्न नसक्नुमा एकले अर्कोलाई आरोप लगाएका छन् । प्रचण्ड र माधव नेपालले केपी ओलीकै कारण यो स्थिति आएको बताएका छन् भने ओलीले चाहिँ प्रचण्ड र माधव नेपालमाथि दोष लगाएका छन् ।

साथै अब ओली पदमुमक्त भएसँगै अब नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । जसका लागि काँग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दावी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

अर्कोतर्फ केपी ओलीले फेरि संसद विघटन गर्ने या ठूलो दलको हैसियतले आफैं सरकारको दाबी गर्ने आशंका पनि विपक्षी दलका नेताहरुले गरेका छन् ।

मतदानअघि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका थिए । यसले पनि विपक्षीहरुमा थप आशंका बढाएको छ ।

प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत नपाएको जानकारी सभामुख अग्‍नी सापकोटाले राष्ट्रपति विद्या भण्डारीलाई दिनेछन्। संसद्‌बाट विश्‍वासको मत नपाएपछि ओलीले अब राजीनामा दिनुपर्नेछ।

उनलाई काम चलाउ प्रधानमन्‍त्री तोकेर राष्ट्रपतिले संसदभित्रबाटै बहुमतको सरकार बनाउन दलहरूलाई आव्हान गर्नेछिन्। कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर वैकल्पिक सरकार गृहकार्यमा लागेका छन्। बहुमतको आधारसहित आजै उनीहरूले राष्ट्रपतिकहाँ जाने तयारी छ।

प्रतिक्रिया दिनुहोस्