राम्रो काम गर्न खोज्दा पनि सरकारलाई हिलो छ्यापियो : प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायित्वका साथ एकताबद्ध भएर जनताले देख्ने र बुझ्ने गरी एकजुट भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘कारण जेसुकै होस्, हाम्रा गतिविधि, चिन्तन, प्रयास र ध्यान जे कुरा केन्द्रित हुनुपर्थ्यो, त्यस्तो हुन सकेन। सरकारले आफ्नो ध्यान कोभिडविरुद्ध र विकासका गतिविधिमा ध्यान दिन चाह्यो। तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो।’ कतिपय सन्दर्भमा प्रधामन्त्री र सरकारविरुद्ध हिलो छ्याप्ने काम भएको गुनासो उनले गरे।

‘कोभिडविरुद्धको खोप खरिदमा भएको भ्रष्टाचारका कुरा ल्याउने, नभएका कुरा बाहिर ल्याउने काम भयो,’ उनले भने, ‘तुलनात्मक रुपमा पहिलो लहरमा न्यून क्षति गर्न सफल भयौं। अब दोस्रो लहरको सामना गर्न सरकार सम्पूर्ण रुपमा केन्द्रित गरेर, नयाँ नयाँ अस्पताल, नयाँ नयाँ बेड, अक्सिजन उत्पादनमा वृद्धि, सिलिन्डर आपूर्ति र विभिन्न देशबाट औषधि मगाइरहेका छौं।

महामारीका बेला पनि यदि कसैले भ्रष्टाचार गर्छ भने अपराध क्षम्य हुँदैन। हामी छानबिन गरेर कारबाही गछौंं।’ साथै ओलीले कोभिड संक्रमणका कारण दिवंगत भएकाहरूप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।

उनले कोभिड संक्रमण भएर अस्पताल र घरमा बसिरहेका संक्रमितहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।उनले कोभिडविरुद्ध लडाइँमा सरकार केन्द्रित भएको र प्रभावकारी ढंगले काम गरिरहेको पनि दावी गरे।

यस्तो बेला विचारका भिन्नताहरु भए त्यसलाई थाती राखेर एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

यसैक्रममा प्रधानमन्त्री ओलीले कोरोना खोपमा समेत भष्ट्राचार गर्नेहरुलाई हदैसम्मको कारवाही गरिने समेत बताएका छन् ।आजको प्रतिनिधि सभालाई सम्बोधन गर्दै सरकारका प्रयासहरुमा साथ सहयोग दिन आग्रह गरेका छन्।

कोभिड न्यूनिकरणमा सरकार लाग्यो तर सरकारले अनेक अफ्ठ्याराहरु सामना गर्नपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्