काठमाडौं उपत्यकामा जेठ १० सम्म निषेधाज्ञा थप्ने तयारी, औपचारिक निर्णय भोलि हुने

काठमाडौं , बैशाख २७ । उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी छ। पहिले एक साताका लागी जारी गरिएको निषेधाज्ञाको समय यसअघि नै वैशाख २९ सम्म थपिएको थियो ।

फेरि काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।

तीन वटै जिल्लाले आइतबार र सोमबार आन्तरिक रुपमा स्थानीय तह, सुरक्षा निकाय र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन्। छलफलमा सबै जिल्लामा निषेधाज्ञा लम्ब्याउने सहमती जुटेको हो।
तीनवटै जिल्ला प्रशासन कार्यालयले जेठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन्।

सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको छ।

उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ। पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा २९ गते सकिने छ। त्यसअघि नै थप निर्णय गर्ने तयारी भएको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइका अनुसार यस बारे भोलि बैठक बसेर औपचारिक निर्णय गर्नेछ ।

कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।

संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको निर्णय गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्