असन्तुष्ट सांसदहरुलाई प्रधानमन्त्री ओलीको आग्रह- हतारोमा कुनै पनि अनुचित निर्णय नगर्नूस्, समस्या भए सँगै बसौँ, छलफल गरौँ

काठमाडौं , बैशाख २७ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ ।

उनले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराएका छन् ।

उनले एमालेका असन्तुष्ट सांसदहरुलाई हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन्।

“आउनुस्, केही समस्या भए सँगै बसौँ, छलफल गरौँ र समाधान गरौँ”, प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो आइतबार एक वक्तव्य जारी गरी असन्तुष्ट पक्षका एमाले सांसदहरुलाई सामूहिक राजीनामा दिने, फ्लोर क्रस गर्नेजस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्