कोरोना महामारी : अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा, काम नपरि बाहिर ननिस्कन आग्रह
काठमाण्डौ , बैशाख २५ । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा लगाएको छ ।
आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म लागू हुनेछ ।
दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ चार गतेसम्मको विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण देशभर नै बढिरहेकाले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयको अनुमान छ । गृह मन्त्रालयले काम नपरि बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।
सरकारले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन् ।
अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्