नेपाल फकाउने ओलीको प्रयास असफल, तीव्र दौडधुपमा विपक्षी दल

काठमाडौं, २५ बैसाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिंदै छन् ।

यसैगरी, आगामी ६ जेठमा हुने ९बाग्मती प्रदेशतर्फको० राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदैछ । यी दुई विषय केन्द्रित छलफल जारी छ । ओली आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले बिनासर्त सहयोग गर्नुपर्ने अडानमा छन् ।
तर, नेपाल समूह पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।

शीर्षनेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार ओली समूह नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ ।

‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अझै केही समहमति भएको छैन, जुटाउने विषयमा केन्द्रित छौं ।’ पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारी समेत सक्रिय भएको बुझिएको छ । शीर्ष नेता अडानबाट टसमस नभएपछि पार्टी नै विभाजन हुने निश्चित भएपछि राष्ट्रपतिले समेत नेताबीच सहमति गराउन पहल गरिरहेको स्रोतको दाबी छ ।

तीव्र दौडधुपमा विपक्षी दल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने रु’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् ।

कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने’ प्रस्ट पारिसकेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तासँगै ‘अब फेरि मत नदिने’ बताएको छ । यी दुई दल अन्य विपक्षीलाई समेत आफ्ना ‘कित्ता’मा ल्याउने प्रयासमा छन् ।

कांग्रेसले ‘अविश्वासको मत’का लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपालसमूहसँग आन्तरिक छलफल जारी राखेको छ । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतका अनुसार ‘अब कसरी अघि बढ्ने ? ’ भन्ने विषयमा विपक्षी दलबीचमा संवाद जारी छ ।

विपक्षमा रहेका अन्य दललाई समेत प्रधानमन्त्री ओलीलाई ‘मत नदिन आग्रह गरिने’ उनले जानकारी दिए । गएको मंगलबारबाटै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ ।

बिहीबार साँझ एमाले नेता नेपालले समेत बूढानीलकण्ठस्थित निवास पुगेर देउवालाई भेटेका छन् । भोलिपल्ट शुक्रबार साँझै माओवादी अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । यता, ललितपुरमा बुधबार विपक्षी दलबीच छलफल नै चलिसकेको छ । सो छलफलबाट विपक्षी दलले ‘राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धन बनाएर अघि बढ्ने’ निर्णय भएको थियो ।

प्रधानमन्त्री ओलीले गएको बुधबार कांग्रेससँग ‘विश्वासको मत’ माग्दै सहकार्य प्रस्ताव गरेका थिए । उनले एमाले नेतासहित कांग्रेस सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमै पुगेर विश्वासको मत मागेका हुन् । तर, कांग्रेसले ‘विश्वास गर्ने वातावरण नभएको’ भन्दै ‘मत दिन नसकिने’ जवाफ दिइसकेको छ । सत्ताधारी दलको क्रियाकलाप ‘ठीक नभएको र सरकार पटक पटक गलत बाटोमा हिंडेको’ भन्दै कांग्रेसले सरकारलाई सचेत समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्