ओलीसँग कुनै सहमति भएको छैन, २०७५ जेष्ठ २ गतेको पार्टीको अवस्थानै हाम्रो बटम लाइन हो: नेता नेपाल

काठमाडौँ , बैशाख २४ । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।

नेता नेपालले सामाजिक सञ्जालमार्फत आफुहरु हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताउदै यो हामीले निर्माण गरेको पार्टी भएको र यसका लागि वार्ता र लचकता दुवै अपनाएपनि अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् ।

उनले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटमलाइन भएको बताउदै गत फागुन २८ र त्यसपछि भएका निर्णयहरु फिर्ता लिनुपर्ने बताएका छन् ।

उनले भनेका छन् – हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं ।
नेता नेपालले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक्लै भेटवार्ता गरेका थिए भने विहिबार राति नै उनले राष्ट्रपति निवासमा प्रधानमन्त्री ओलीसँग समेत छलफल गरेको विषय बाहिर चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्