आज थप ४ जिल्लामा निषेधाज्ञा , ६० पुग्यो जिल्लाको संख्या

काठमाडौँ, बैशाख २४ । कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ६० जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १३ जिल्लामा आंशिक, बाँकी ४७ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी छ ।आजदेखि थप ४ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । धनकुटा, अछाम, हुम्ला र धादिङमा निषेधाज्ञा लागू भएको हो । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ ।

गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्