काठमाडौं बाहेक चार विमानस्थलबाट आकस्मिक उडान अनुमति
काठमाडौं, बैसाख २२ । वायुसेवा कम्पनीले आपतकालीन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थल बाहेक मोफसलका चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति दिने निर्णय गरेको हो ।
त्रिभुवन विमानस्थल कार्यालय, नेपालगञ्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको स्रोतले जानकारी दिएको छ । यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो ।
सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै मंगलबारबाट लागु हुने गरी आन्तरिक सेड्यूल उडान बन्द गरेको छ । भोलि ९बिहीबार०बाट अन्तर्राष्ट्रिय सेड्यूल उडान बन्द हुनेछन् ।
तर, यसबीचमा मेडिकल, पर्वतारोहणमा गएका पर्वतारोहीको उद्धारका लागि हुने उडान भने गर्न सकिने छ । कार्गो र चार्टर्ड उडान समेत गर्न सकिन्छ । प्राधिकरणले सम्बन्धित कार्यालयलाई अधिकार प्रत्यायोजन गरि जारी भएका उडान अनुमतिको विवरण प्रधान कार्यालयमा पठाउन समेत कार्यालयहरुसँग अनुरोध गरेको छ ।
अहिले हजारौं पर्वतारोही र सहयोगी खुम्बु क्षेत्रमा छन् । उनीहरु आगामी एक–दुई साताभित्रै हिमाल आरोहण शुरु गर्दैछन् । त्यसपछि आरोहणका दौरान अफ्ठ्यारो हुनेहरुलाई हेलि उद्धार गर्नुपर्ने हुन्छ ।
आरोहणबाट र्फकनेहरुलाई लुक्लाबाट काठमाडौं ल्याउनु पर्ने हुन्छ । त्यसअवस्थामा वायुसेवा कम्पनीहरुले अब लुक्लास्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाटै उडान अनुमति लिएर पर्यटकको उद्धार गर्न सक्ने बाटो प्राधिकरणले खोलेको छ ।
यसबाहेक कोरोना भाइरसको महामारीका कारण गम्भीर प्रकृतिका बिरामीको हेलि उद्धारको काम समेत देशभर भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्