आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी, उपत्यकामा थप कडा गरिँदै

काठमाडौँ, बैशाख २२ । आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । आजदेखि बाजुरा, रोल्पा, महोत्तरी, म्याग्दी, मुगु र तनहुँमा निषेधाज्ञा जारी भएको छ ।

बाजुरामा बिहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ । त्यस्तै रोल्पामा बिहान ६ बजेदेखि निषेधाज्ञा शुरू भएको छ ।

महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा मध्यराति १२ बजेदेखि निषेधाज्ञा जारी हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा बिहीबार बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ ।

निषेधाज्ञा लगाउँदासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ ।

कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा झन् कडा पारिने भएको छ । नयाँ भेरियन्टको कोभिड(१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले निषेधाज्ञा झन् कडा पारिने भएको हो । यसपालिको निषेधाज्ञाको कार्यान्वयन तह फितलो भएको गुनासो बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्