कोरोना संक्रमणदर बढ्नुमा सरकार मुख्य जिम्मेवारः नियन्त्रण र रोकथामका लागि काँग्रेको ११ बुँदे माग (पूर्णपाठसहित)
काठमाडौं, बैशाख १७ । नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमणदर बढ्नुमा सरकार मुख्य जिम्मेवार रहेको बताएका छन् । निजी निवास बुढानिकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले यस्तो बताएका हुन् ।
अत्यन्तै कम मात्रामा पिसिआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित हुनु भनेको देशमा संक्रमणको अवस्था डरलाग्दो भएको उनको भानाइ छ । यसो हुनुमा सरकारको चरम लापवाही, असंवेदनशिलता र अर्करमन्यता मुख्य जिम्मेवार रहेको देउवाले बताए ।
सरकारले विगतबाट पाठ नसिकेको र अरु पार्टीको सुझाव पनि नसुनेको आरोप उनले लगाए । अधुरा कामको उद्घाटन गरी भिडभाड बढाउन मात्र सरकार तत्लीन रहेको उनको भनाइ रहेको थियो ।
साथै उनले अत्यावश्यक अक्सिजन र भेन्टिलेटर तत्काल उपलब्ध गराउन सरकारसँग माग पनि गरेका छन् । अस्पताल र आइसियु वेड सहित स्वास्थ्य पूर्वाधारको समुचित व्यवस्था गर्न पनि माग गर्दै सीमा नाकाहरुमा पिसिआर परीक्षण गरी रिपोर्ट नआउन्जेल होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष जोखिम भत्ताको व्यवस्था गर्न पनि उनले माग गरेका छन् । नाकाबाट प्रवेश गर्ने नेपालीहरुको लागि निःशुल्क पिसीआर परीक्षण गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनको लागि सरकारसँग माग गरे ।
पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्रमण कम भएको ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको उल्लेख गरिएको छ ।
देउवाले कोरोनाको संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाइ निषेधाज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न आवश्यक कामहरु गर्न आग्रह गर्दै सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन् ।
संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न, स्वास्थ्य सामग्रीको समुचित व्यवस्था गर्न, पीसीआर परीक्षणलाई व्यापक बनाउन, सीमामा होल्डिङ सेन्टरको व्यवस्था गर्नलगायतका माग काँग्रेसले सरकारलाई दिएको छ ।
साथै देउावाले कोभिड १९ को स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरे । भौतिक दूरी कायम गर्न, मास्क लगाउन र नियमित साबुनपानीले हात धुन आग्रह गर्दै उनले संक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्