सम्पर्कविहीन भनिएका सांसद शाही अस्पतालको आईसीयूमा

काठमाडौं, बैशाख १५ । सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । उनी चरक मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भएको अस्पतालले बताएको छ ।

अस्पतालका एक उच्च अधिकारीका अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आईसीयू कक्षमा शाहीको उपचार भईरहेको अस्पतालले बताएको छ । ‘शाहीमा कोरोना संक्रमण भएको र उनको अहिले आईसीयूमा उपचार भईरहेको छ,’ अस्पताल श्रोतले बताएको छ ।

तर, गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने शाहीको रिपोर्ट नेगेटिभ रहेको बताएको छ । ‘हामीलाई बुधबार दिउँसो चारबजेसम्मको रिपोर्ट अनुसार शाहीको रिपोर्ट नेगेटिभ छ,’ निर्देशनालयका एकजना वरिष्ठ अधिकृतले भने, ‘प्रदेशसभाका सदस्यहरुको हिजै परीक्षण गरिएको हो । ती मध्ये तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो । तर शाहीको रिपोर्ट नेगेटिभ छ ।’ रिपोर्ट नै नेगेटिभ आउँदाआउँदै अस्पतालमा कोेरोना भयो भनेर उपचार गरेको भए त्यो राम्रो नहुने ती अधिकृतले बताए ।

शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव नै संकटमा परेको छ । अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने दिन बुधबार विहानदेखि शाही सम्पर्कविहीन भएका थिए । तर, उनी मध्यान्ह अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्