चितवनमा पनि बिहीबार रातिबाट निषेधाज्ञा : के खुल्ने के नखुल्ने ?

काठमाडौं, बैशाख १५ । चितवनमा बिहीबार रातीबाट निषेधाज्ञा हुने भएको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२ वजेसम्म लागु हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले कारोना जोखिम नियन्त्रणका लागि भन्दै विभिन्न निर्णय गरेको छ ।

खाद्य सामाग्री, तरकारी, फलफुल, दुध, ग्यास पेट्रोलबाहेकका सेवा तथा विक्री केन्द्र बन्द हुने भएको छ । सिनेमा हल, पार्टी प्यालेस, दोहोरी घर, फनपार्क, फुटसल, पुस्तकालय, संग्राहलय, जिम हल, स्पा, ब्यूटीपार्लर, सैलुन, टेलरिङ, स्वीमिङ पुल र फुटपाथ पसल संचालन गर्न नपाइने भएको छ ।

पठनपाठन र परीक्षा संचालन गर्न नपाइने, विहे घरमा मात्र गर्न पाइने र बढीमा १५ जनाको उपस्थितिमा गर्न पाइने, दाहसंस्कारमा जाँदा सवारी साधनका लागि प्रशासनसँग अनुमति लिनुपर्ने, लामो तथा छोटो दुरीका सार्वजनिक र निजी सवारी प्रयोग गर्न नपाइने, धार्मिक स्थलमा जमघट गर्न नपाइने, जंगल सफारी र जलयात्रा, अत्यावश्यक कार्यालयबाहेक अन्य कार्यालयका सेवा बन्द हुने भएको छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विधुत्, इन्टरनेट, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास र पेट्रोल, तरकारी तथा फलफुल, खाद्यान्न, दुग्ध, औषधि, पशुपंक्षिको दाना माछा मासु अण्डा र पानी सम्बन्धी सेवाहरु संचालन गर्न पाइने भएको छ । उद्योग कारखानका मजदुरले जनस्वास्थ्यका सवै मापदण्ड पालना गर्ने, उनीहरुको आवास व्यवस्था उद्योगले नै गर्ने र त्यो सम्भव नभएमा मजदुर आवातजावत सम्बन्धित उद्योगले मिलाउने निर्णय गरिएको छ ।

एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्य सामाग्री बोक्ने साधन, कुटनीटिक नियोगका साधन, मालवाहक साधन, निर्माण सामाग्री ढुवानी साधन, अत्यावश्यक काम तथा सरकारी कामको लागि प्रयोग हुने सवारी साधन संचालन गर्न पाइने सहायक प्रजिअ शाहीले बताए ।

बैंकको एटीएम संचालनमा प्रयोग हुने सवारी साधन, समाचार संकलनका लागि सूचना विभागबाट जारी हुने सवारी साधन, कृषि उपज तथा औजार ढुवानी सधान र प्रशासनबाट अनुमति प्राप्त साधन चल्न पाउने छन् ।

देशभर कोरोना संक्रमण बढेपछि सरकारले कडाइ गर्न थालेको छ । काठमाडौंमा पनि भोलीबाट १५ दिनका लागि निषज्ञा लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्