रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन मिल्दैन : महान्यायाधिवक्ता बडाल
काठमाडौं, बैशाख १५ । महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनामा जन्मकैदको सजाय ठहर भएका रेशम चौधरीसहितका व्यक्तिहरूको मुद्दा फिर्ता लिन नमिल्ने बताएका छन्।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले जिल्ला अदालतबाट भएको फैसलाका मुद्दा मात्र फिर्ता लिन सकिने र चौधरीसहितको मुद्दा दुई तह पुनरावेदन हुँदै सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फिर्ता लिन नमिल्ने उनले बताए।
कानुन र संविधानले दिएको अधिकार प्रयोग गरि महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ताको राय दिने भएपनि चौधरीसहितको मुद्दा फिर्ता लिन नमिल्ने बडालले बताए ।
पछिल्लोपटक चौधरीसहितका प्रतिवादीहरूको मुद्दा फिर्ताका लागि जसपा र सरकारका बीचमा वार्ता चलिरहेको समयमा सरकारका कानुनी सल्लाहकारको यस्तो टिप्पणी आएको हो। उनीहरूको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र कानुनले फिर्ता लिन रोक्ने बडालको भनाइ रहेको छ ।
जसपाले सत्ता साझेदारीका लागि अहिले प्रमुख रुपमा यही अजेन्डा बनाइरहेको छ। चौधरीसहितका व्यक्ति निर्दोष भएको र टीकापुर प्रकरणमा फसाइएको दाबी गर्दै फिर्ता हुनुपर्ने जसपाको माग छ।
सरकारले उनीहरूको माग सम्बोधनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा समिति नै बनाएको छ। उक्त समितिले विभिन्न चरणमा वार्ता गरेपनि स्पष्ट खाका सार्वजनिक गर्न सकेको छैन।















प्रतिक्रिया दिनुहोस्