यातायात व्यवसायी भन्छन्- सरकारले विभेदपूर्ण निर्णय गर्यो , यसको स्वतस्फूर्त अवज्ञा गर्छौ

काठमाडौं, बैशाख १४ ।कोरोनाको दोस्रो लहर देशभर फैलीएकाले सरकारले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । योसँगै सार्वजनिक सवारीसाधन चल्ने छैनन् ।तर यता सञ्चालनमा रोक लगाएको भन्दै सरकारको निर्णयप्रति यातायात व्यवसायीहरूल भने असन्तुष्टि जनाएका छन् ।

सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरूले असन्तुष्टि जनाएका हुन् ।कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ ।

सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले माग गरका छन् । हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारीसाधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दूरीका सवारीसाधन चलाउन दिनुपर्ने उनको भनाइ रहेको छ ।

महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वतस्फूर्त अवज्ञा हुने चेतावनी समेत दिएका छन् । अघिल्लो वर्ष पनि लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशायी भएको थियो ।

यस वर्ष पनि यहि अवस्था हुने भन्दै व्यवसायीहरूले यातायात व्यवसायलाई बन्द गर्नु नहुने भन्दै आएका छन् । सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक्रमण नरोकिने भन्दै उनीहरूले यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्