१५ दिने निषेधाज्ञा : आन्तरिक उडानमा यात्रुको चाप बढ्यो , टिकट पूरै प्याक

काठमाडौं, बैशाख १४ । सरकारले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णयसँगै अब काठमाडौं उपत्यका छाड्ने हरु बढेका छन् । हिजै मात्र सरकाले उपत्यका छाड्न २ दिनको समय दिएको थियो । बिहानै देखि उपत्यका छाडेर घर फर्किनेहरूको भिड लागेको छ ।

खासगरी कोटेश्वर नाका र थानकोट नाकामा उपत्यका छाड्नेहरूको भिड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसको भिड लागेको छ । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुने गरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ ।

यसैबीच सार्वजनिक यातायात तथा लामो दुरीमा चल्ने सवारीमा अहहिले घर जानेको भिड बढेको हो । सवारीमा मात्रै होइन हवाइजहाज पनि पुरै प्याक भएको छ । हवाइजहाजको टिकट पूरै बिक्री भएको वायुसेवा कम्पनीले बताएका छन्। हवाइ सेवा कम्पनीले अधिकांश ठाउँमा मंगलबार र बुधबारको लागि ‘फुल अकुपेन्सी’ भएको बताएका छन्।

कम्पनीहरुले सोमबारदेखि नै हवाइ उडान थप गरेका थिए। हवाइ उडान थप गरे पनि यात्रुको चाप बढी हुँदा सिट क्षमता भरिएको हो।यता काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या धेरै भए पनि काठमाडौं भित्रिने यात्रु ४० देखि ५० प्रतिशत मात्रै रहेको वायुसेवा कम्पनीले बताएका छन्।

आज र भोलिको लागि काठमाडौंबाहिर जान टिकट पाउन मुस्किल रहेको छ यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएकाठमाडौं उपत्यका भित्रिनेको संख्या घटेको छ। अहिले ४० देखि ५० प्रतिशत यात्रु रहेका मात्रै हरेका छन् । अब आउने भन्दा जाने धेरै छन् ।

हवाइ कम्पनीले अघिल्लो हप्तासम्म यात्रु नपाउँदा सस्तो भाडादरमा यात्रु बोकेका थिए। यात्रु बढ्नेबित्तिकै फुल भाडादरमा लिन थालेका छन्।

त्यस्तै श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले आज र भोलिको लागि सबै गन्तव्यमा टिकट बुकिङ भइसकेको बताए। उनले पर्सि अर्थात् निषेधाज्ञाको भोलिपल्ट १७ गतेको लागि पनि बुकिङ भइरहेको जानकारी दिए।

सरकारले काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक यातायात पूर्णरुपमा बन्द गर्ने निर्णय गरे पनि आन्तरिक उडान बन्द गर्ने औपचारिक निर्णय गरिसकेको छैन।

कोरोना कहरले गर्दा जिल्लाबाट आएकाहरु अब भने फेरि बिच्चलीमा पर्न नपरोस भनेर समयमै जान थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्