काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञाः यातायात पनि बन्द, बैंक र सरकारी कार्यालय खुल्ने

काठमाडौं , बैशाख १३ । काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकमा निषेधाज्ञा लगाउने सहमति भएको हो ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खाद्यपदार्थ र औषधि पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

आइतबार कोभिड (१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । तर मंगलबार वैशाख १४ गतेदेखि नै निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले बताए ।

उनका अनुसार सार्वजनिक र निजी यातायात भने वैशाख १६ गतेदेखि बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

आजै निषेधाज्ञाबारेको विस्तृत निर्णय सार्वजनिक गरिने छ । अत्यावश्यक र तोकिएका कामबाहेक निस्कनेमाथि कडाइ गरिनेछ ।

खाद्यान्नका पसल खुल्नेछन् । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनी दायरामा ल्याइनेसमेत सहमति भएको छ । यसबाहेक निषेधाज्ञामा खोल्न पाइने र नपाइने विषयमा छलफल जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्