५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन बारे निर्णय हुने
काठमाडौं , बैशाख १३ । कोरोनाबारे थप रणनिती लिन साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
आजको बैठकले कोभिड–१९ सङ्क्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्न सक्ने भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुनेछ ।
आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।
यस्तै पहाडमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय सङ्क्रमित भएमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको हो ।
यता काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच सहमति भएको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यहि बैसाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्