अहिले नै देशभर लकडाउन गर्नुपर्ने अवस्था छैन, सतर्कता बढाउनूः प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै देशभर लकडाउन आवश्यक नभएको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिले नै देशभर लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

सीसीएमसीले गरेको ‘ब्रिफिङ’पछि प्रधानमन्त्रीले केही दिनअघि जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए । ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार कोरोनाको संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए । सीसीएमसीले यही वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, संक्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो ।

यस्तै, सरकारको तर्फबाट आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा आवश्यक छलफल गरी खाका ल्याउन प्रधानमन्त्रीले सीसीएमसीलाई निर्देशन दिएका छन् ।

सरकारले काठमाडौं उपत्यकालगायतका जिल्लामा शैक्षिक संस्थालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । यस्तै, सवारी–साधनमा मास्क तथा स्यानिटाइजरलगायतको व्यवस्था गरिएको छ । मनोरञ्जनस्थल तथा भिडभाड हुने स्थानमा २५ जना बढी भेला हुन नपाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्