आफु लचिलो भए पनि माधव नेपालहरुले पार्टी एकता गर्न पहल गरेनन् : प्रधानमन्त्री ओली

काठमाडौं , बैशाख १० । नेकपा ९एमाले०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी एकताका लागि पहल गरे पनि नेता माधवकुमार नेपाललगायतले पहल नगरेको बताएका छन् ।

शुक्रबार बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले नेता नेपाल, योगेश भट्टराईसँगको छलफलमा आफू लचिलो भए पनि उनीहरु एकताको पक्षमा नरहेको बताएका हुन् ।

“म अझै पनि लचिलो भएर आएको छु । मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो । दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरेँ । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभूति देखिँदैन,” बैठकमा ओलीले भने, “पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन । कम्युनिस्ट पार्टी नयाँ उचाइ, सान र गौरवका साथ अगाडि बढ्दछ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ ।”

ओलीले पार्टी एकताबद्ध बनाउन आफू अहोरात्र खटेको पनि बताए । उनले तत्कालीन नेकपा नेता नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वार्थका कारण विभाजित भएको जिकिर पनि गरे ।

ओलीले नेता नेपालप्रति लक्षित गर्दै अराजक ढंगले लागेको आरोप पनि लगाए । सरकारको आलोचना गर्ने, बदनाम गराउने हिसाबले लागेको उनको भनाइ थियो । पार्टी विभाजित नभएको भएपनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको पनि ओलीले सम्झिए । आफूलाई साधरण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्