बालुवाटारमा सुरु भयो एमाले बैठक, नेपाल–खनाल पक्ष अनुपस्थित

काठमाडौं , बैशाख १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने बुझिएको छ ।

गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । जसमध्य खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् ।

एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।

यसबाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।

यसैबीच आजको वैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कोही पनि उपस्थित छैनन् । नेपाल–खनाल पक्षले यसअघि नै वैठकमा उपस्थित नहुने बताइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्